Monday, September 13, 2010

गजलः अझै मीठो

पछ्यौरीमा जवानी त्यो लुकाएको अझै मीठो ।
लजाए झैँ परेली ती झुकाएको अझै मीठो ।।


नबोलेरै सतायौ है म रोएको निको मान्यौ ।
रिसाए झैँ रुखो बोल्दै दुखाएको अझै मीठो ।।


झुके आँखा ढल्यो सन्ध्या निशा छायो भयौ टाढा ।
दियो बाल्दै जली आत्मा सुकाएको अझै मीठो ।।


कुनै मीठो इशाराले नजिक् तान्यौ जितीहाल्यौ ।
दिई माया सबै कर्जा चुकाएको अझै मीठो ।।


तिमी आयौ उषा छायो चुम्यौ आँखा उज्यालो भो ।
बिहानी भै सबै बाधा फुकाएको अझै मीठो ।।

आवाज शर्मा

No comments:

Post a Comment